पेफा संरचना र गतिविधि समेटिएको अभिमुखीकरण कार्यक्रम
पेफा सचिवालय अनामनगर र सहरी विकास मन्त्रालयस्थित पेफा कार्यान्वयन इकाई (PEFA Implementation Unit, PIU) को संयुक्त आयोजनामा news-2073-03-11पेफा संरचना र गतिविधि समेटिएको अभिमुखीकरण कार्यक्रम असार २६ गते आइतवार मन्त्रालयको सभाहलमा सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता निमित्त सचिव शम्भु के सीले गर्नुभएको उक्त कार्यक्रममा सहसचिव तथा पेफा कार्यान्वयन इकाईका संयोजक रामचन्द्र दंगालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागी महानुभावहरुलाई स्वागत गर्नुभएको थियो भने इकाइका सदस्य सचिव एवं मन्त्रालयका आर्थिक प्रशासन शाखा प्रमुख नेत्र सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
मन्त्रालयमा कार्यरत सवै अधिकृतस्तरीय कर्मचारीहरु र उपत्यकास्थित मातहत निकायका विभागीय प्रमुख एवं लेखा प्रमुख समेत गरी झण्डै ४५ जना सहभागी रहेको उक्त कार्यक्रममा पेफा सचिवालयका परामर्शदाता राजेन्द्र वज्राचार्यले पेफाको परिचयात्मक कार्यपत्र राख्नुभयो भने मन्त्रालयका आर्थिक प्रशासन शाखा प्रमुख उपसचिव नेत्र सुवेदीले सहरी विकास मन्त्रालयको वर्तमान नीति खाका र व्यवस्थापकीय सुधारका एजेण्डाहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफल र प्रश्नोत्तरको सेसनका क्रममा उठेका जिज्ञाशाहरुको जवाफ पेफा सचिवालयकी लेखा अधिकृत अनुपमा कार्की र परामर्शदाता राजेन्द्र वज्राचार्यले दिनुभएको थियो । उक्त कार्यको अन्त्यमा समापन मन्तव्य राख्दै निमित्त सचिव शम्भु के सी ले कार्यक्रम उपयोगी रहेको, पेफासँग पुन: जोडिन पाउनु सुधारको लागि अवसर समेत भएकोले आयोजना व्यवस्थापन लगायत वित्तीय अनुशासन कायम गर्ने सम्वन्धमा मन्त्रालयमा गठन भएको इकाईले आन्तरिक छलफलसमेतका आधारमा सुधारका विषयहरु क्रमश लागू गर्दै जानुपर्ने र सो कार्यमा पेफा सचिवालयसँग समेत अनुरोध गरिने वताउँदै यसखालको कार्यक्रम आयोजनाका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधारको संस्थागत प्रयासको कडिका रुपमा Public Expenditure and Financial Accountability (PEFA) लाई लिइन्छ । सन् २००९ मा नेपालमा यसको शुरुवात भएयता सुधारका लागि थुप्रै काम भएका छन् भने पेफा मूल्यांकन पनि दुइपटक भइसकेको छ । सुधारको कुरा गर्दा स्रोत संकलनदेखि खर्च व्यवस्थापनलाई व्यवस्थित र आधुनिक वनाउने सम्वन्धमा एकल खाता कोष प्रणाली, NPSAS कार्यान्यनलगायत धेरै नै सुधार प्रयासहरु भएका छन् । सुधारकै प्रभावस्वरुप पेफाको दोश्रो मूल्यांकनले सुधारका स्पष्ट संकेतहरु सूचकमार्फत देखाएको छ ।