मिति २०७४ कार्तिक १३ गते सोमबारका दिन माननीय सहरी विकास राज्यमन्त्री कुन्ती कुमारी शाहीज्यूको समुपस्थितिमा विश्व बसोबास दिवस एवं विश्व सहरी योजना दिवस संयुक्त रुपमा कार्यशाला गोष्ठी गरी मनाइयो ।
संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) ले सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोवर महिनाको पहिलो सोमबारलाई विश्व बसोबास दिवसको रुपमा मनाउने घोषण गरे अनुरुप नेपालमा पनि सन् २००१ देखि विभिन्न संघ संस्थाहरुको सहकार्यमा यो दिवस मनाउँदै आइरहेको छ । यस वर्षको विश्व बसोबास दिवस २०१७ को नारा “Housing Policies: Affordable Homes” अर्थात् …आवास नीतिको प्रयास, गच्छे अनुसारका सुरक्षित बास’ रहेको थियो । साथै, यस वर्ष विश्व सहरी योजना दिवस २०१७ को नेपालको लागि नारा ‘संघीय नेपालमा सहरी योजना रहेको थियो ।
कार्यक्रमको सुरुमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक डा. रमेश प्रसाद सिंहज्यूले स्वागत मन्तव्य दिनुभएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा RUPSON का अध्यक्ष श्री जगदीशचन्द्र पोखरेलले …संघीय नेपालमा शहरी योजना’विषयमा Key Note Speech दिनुभएको थियो । साथै सहरी विकास मन्त्रालयका सचिव श्री दीपेन्द्र नाथ शर्माज्यूले मन्त्रालयबाट शहरी विकासका क्षेत्रमा भएका कार्यहरुमाथि प्रकाश पार्नुहुँदै शहरी विकास ऐनको महत्व बारे जानकारी दिनुभयो । माननीय राज्यमन्त्रीज्यूले योजनाबद्ध विकासको आवश्यकतामा जोड दिनुभएको थियो । उक्त कार्यक्रममा स्नातकोत्तरमा Urban Planning तथा Urban Design विषयमा उत्कृष्ट थेसिस पुरस्कार वितरण पनि गरिएको थियो । पहिलो सत्रको संयोजन सहरी विकास मन्त्रालयका सहसचिव श्री शम्भु के.सी. ले गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा सहरी विकास मन्त्रालयका सि.डि.इ. सुमन सालिकेले तेस्रो संयुक्त राष्ट्र संघीय बसोबास सम्मेलनका लागि नेपालले तयार पारेको प्रतिवेदनको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका तर्फबाट उपमहनिर्देशक पद्म कुमार मैनालीले शहरी योजना तथा आवास नीति विषयमा प्रस्तुती गर्नुभएको थियो । साथै, गैर सरकारी संस्था लुमन्तीबाट कार्य पत्र प्रस्तुत गरिएको थियो र उत्कृष्ट थेसिस पुरस्कार विजेताहरुले आफ्नो शोधको छोटो प्रस्तुती समेत भएको थियो । प्रस्तुती पछि शहरी विकासका विभिन्न आयामहरुका सम्बन्धमा अन्तरक्रिया तथा छलफल भएको थियो । दोस्रो सत्रको संयोजन सहरी विकास मन्त्रालयका सहसचिव श्री शिवहरि शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा शहरी विकास तथा बसोबाससंग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा शहरी योजना विद्हरुको बाक्लो उपस्थिति रहेको थियो ।