परिचय

२०६९ साल जेठ ५ गते स्थापित यस शहरी विकास मन्त्रालयको साङ्गठनिक संरचनामा मन्त्री एक, सचिव एक, सहसचिव वा सो सरहका महाशाखा प्रमुख हुने ४ वटा महाशाखा र राजपत्राङ्कित द्वितीय श्रेणी शाखा प्रमुख हुने १४ वटा शाखाहरू, मन्त्री र सचिवको निजी सचिवालय १/१ गरी २ वटा रहने सङ्गठन संरचना स्वीकृत गरिएको छ । यो मन्त्रालय केन्द्रीय तहको नीति निर्माण गर्ने निकाय हो । नेपाल सरकारको मिति २०६९/०२/०५ को निर्णयअनुसार शहरी विकास मन्त्रालयको गठन भएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७२/०९/०९ को निर्णयानुसार पुनर्गठन पछि यस मन्त्रालयले हाल शहरी विकास, आवास, भवन निर्माण, स्थानीय पूर्वाधार विकास सम्बन्धी कार्यहरू सुनियोजित र व्यवस्थित गर्ने जिम्मेवारी रहेको छ ।


दीर्घकालीन सोच

पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर शहर तथा बस्तीहरू


अभियान

  • व्यवस्थित, सफा, पूर्वाधार तथा सेवा सुविधायुक्त, सुन्दर शहर तथा बस्तीहरूको विकास गर्ने
  • सबैका लागि सुरक्षित र किफायती आवास व्यवस्था गर्ने
  • सुरक्षित, सुविधायुक्त र आकर्षक भवनहरू निर्माण गर्ने गराउने

मन्त्रालयको कार्यक्षेत्र
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४/१२/०१ को निर्णयानुसार पुनर्गठन भएको शहरी विकास मन्त्रालयलाई नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ ले देहायको कार्यक्षेत्र तोकेको छ ।

१. शहरी विकाससम्बन्धी नीति, कानून र मापदण्ड

२. बस्ती विकास, शहरी विकास र आवास विकाससम्बन्धी नीति, कानून, मापदण्ड र नियमन

३. राष्ट्रिय भवन संहितासम्बन्धी नीति, कानून र मापदण्ड

३क. फोहोरमैला व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड, समन्वय र सहजीकरण

४. सङ्घीय सचिवालयको भवन निर्माण, मर्मत तथा व्यवस्थापन

५. राष्ट्रिय शहरी पूर्वाधार विकास, सङ्घीय सरकारी आवास, भवन निर्माण तथा मर्मत सम्भार

६. विशिष्ट शहरी संरचना

७. राष्ट्रियस्तरका संयुक्त र बहुतले आवाससम्बन्धी नीति, कानून, मापदण्ड र नियमन

८. लोपोन्मुख, सीमान्तकृत, गरिब, ज्येष्ठ नागरिक लक्षित आवास व्यवस्थापन नीति, कानून र मापदण्ड

९. नगर विकास कोष

१०. मन्त्रालयसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय

११. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन

११क. राष्ट्रियस्तरको पार्क, मनोरञ्जन स्थलसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन

१२. नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहको बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहको सञ्चालन